२०८० चैत ५, सोमबार
गोरखा । दुई नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने गोरखाका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
७ वर्षे र ९ वर्षे दुई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा नगरपालिका वडा नम्बर १४ सलाङगिरीका सिताराम भन्ने दल बहादुर विश्वकर्मालाई गोरखा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि सोमबार जिल्ला कारागार गोरखा पठाइएको गोरखाका प्रहरी प्रवक्ता तथा डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।
गत फागुन ९ गते दुई नाबालिकालाई करिब बिहान ११ बजे फकाई फुलाई सलाङगिरी स्थित झरौटे धारा वनमा लगी बलात्कार गरेको आरोप लगाउदै पीडित नाबालिकाहरुको आमाले फागुन १० गते उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
उजुरीपछि प्रहरीले फागुन १० गते पक्राउ गरि फागुन ११ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट विश्वकर्मा विरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।
दुई नाबालिकाहरुलाई जबरजस्ती करणी अनुसन्धान पश्चात गोरखा जिल्ला अदालतले चैत ५ गते सोमबार विश्वकर्मालाई पुर्पक्षको लागि कारागार थुनामा पठाउन आदेश दिएको हो।

