१० असार २०८१, सोमवार
गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।
“समृद्ध ऐतिहासिक सिरानचोकको सान: दिगो बिकासको अभियान” नाराकासाथ सम्पन्न सभाले निति तथा कार्यक्रम र १४औँ गाउँसभा आज एकै दिन सम्पन्न गरेको हो ।
गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष रीता देवकोटाले आर्थिक वर्ष ०८१/८२ का लागि ७५ करोड ६४ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ मा ७९ करोड ८४ लाख ५५ हजार ६०० बजेट प्रस्तुत गरेको थियो। अघिल्लो वर्षको तुलनामा यसपटक पालिकाले झन्डै साढे चार करोड घटीको बजेट प्रस्तुत गरेको छ । जस अन्तर्गत तलब तथा प्रशासनिक खर्च तर्फ ९ करोड ९१ लाख ४८ हजार ९९९, विषयगत क्षेत्र योजनाको लागि ७ करोड ६२ लाख, वडागत सिलिङ ५ करोड ८ लाख, दिगो बिकास लक्ष्य कार्यान्वयन तर्फ २ करोड, गाउँपालिका गौरव योजना, अन्य महत्त्वपूर्ण योजना र बाँकी रहेको भुक्तानी दायित्वकोलागि १४ करोड, समपुरक अनुदान कार्यान्वयनतर्फ ४ करोड ६० लाख, शसर्त अनुदान कार्यान्वयनतर्फ ३० करोड ८३ लाख, विशेष अनुदान कार्यान्वयन तर्फ १ करोड ६० लाख बजेट प्रस्तुत गरेको छ ।
यसैगरी बजेटले आर्थिक बिकास, सामाजिक क्षेत्र, पुर्वाधार क्षेत्र, वन तथा वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, गरी मुल पाँच क्षेत्र चयन गरेको छ ।
आर्थिक बिकास क्षेत्र: १ करोड ५२ लाख ४० हजार रुपैयाँ बिनियोजन गरेको छ । जसअन्तर्गत कृषि तथा भुमि ब्यवस्था, सिंचाइ, पशुपंक्षि, सहकारी तथा गरीबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृती सम्पदा तथा पर्यटन र श्रम तथा रोजगार रहेका छन् ।
सामाजिक क्षेत्र: २ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ जसअन्तर्गत स्वास्थ तथा पोषण, शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ, युवा खेलकुद तथा नवप्रवर्द्धन र महिला बालबालिका तथा समाज कल्याण रहेको छ ।
पुर्वाधार क्षेत्र: २ करोड २८ लाख ६० हजार विनियोजन गरेको छ जस अन्तर्गत भवन आवास वस्ती तथा शहरी बिकास, सडक, पुल तथा यातायात, जलस्रोत, विद्युत तथा वैकल्पिक उर्जा र सूचना तथा संचार पर्दछ ।
वन तथा वातावरण व्यवस्थापन: ७६ लाख २० हजार विनियोजन गरेको छ जसअन्तर्गत वन तथा जैविक विविधता, भु- संरक्षण तथा जलाधार, वातावरण तथा फोहोर मैलाव्यवस्थापन र विपद व्यवस्थापन तथा जलवायु उत्थानशिलता पर्दछ।
संस्थागत विकास तथा सुशासन: ७६ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ जसअन्तर्गत निति, कानुन, न्याय तथा सुशासन, संगठनात्मक विकास, मानव संशोधन तथा सेवा प्रवाह, श्रोत परिचालन, तथ्यांक प्रणाली र योजना व्यवस्थापन पर्दछ।
यसैगरी वडा स्तरीय योजना तथा कार्यक्रमको लागि ५ करोड ८ लाख ८ वडालाई निम्न अनुसार बिभाजन गरेको छ । १ नं वडा ५३ लाख ७७ हजार, २ नं वडा ६० लाख ९८ हजार, ३ नं वडा ६० लाख ३६ हजार ४०, ४ नं वडा ६४ लाख ९६ हजार, ५ नं वडा ६४ लाख ६३ हजार, ६ नं वडा ६७ लाख ८० हजार ३ सय, ७ नं वडा ६५ लाख ९० हजार र ८ नं वडाको लागि ६९ लाख ६० हजार विनियोजन गरेको छ ।
दिगो बिकासका लागि २ करोड छुट्टयाइएको छ।
उक्त कार्यक्रममा बजेट भाषण पालिका उपाध्यक्ष रिता देवकोटा द्वारा प्रस्तुत गरिएको थियो र अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा बसेको सभाले बजेट विनियोजन पारित गरेको थियो ।
सिरानचोक गाउँपालिकाका सबै वडाका जन-प्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।