धार्चेमा ५ विद्यालय समायोजन ९ विद्यालय व्यवस्थापन समिति विघटन

समाचार

गोरखा, असार २३ गते ।


धार्चे गाउँपालिकाले ५ वटा विद्यालय समायोजन गरेको छ ।विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो ।

गाउँ कार्यपालिकाको तथा गाउँ शिक्षा समितिको असार १८ गतेको निर्णयअनुसार विद्यार्थीको संख्या न्यून भएका ५ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन तथा कक्षा कटौती गरिएको शिक्षा अधिकृत पुष्पराज जोशीले बताए ।

‘हामीले १ वर्ष लामो अध्ययन पछि विद्यालयहरु समायोजन गर्ने निर्णय गरेका हौ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भने,‘विद्यार्थी संख्या कम भएको विद्यालयलाई नजिकको विद्यालयमा गाभ्ने निर्णय भएको छ ।’

“विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालय तथा कक्षाकोठा समायोजन गर्नुपरेको हो”, उनले भने, “गाउँपालिकाका-१ देखि ८ सम्मकै विद्यालय समायोजन गरिएको छ ।” लामो समयको छलफलपछि विद्यालय समायोजनको योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

“सरकारी विद्यालयमा पढ्ने विद्यार्थी विस्तारै संस्थागत विद्यालय पढ्नका लागि सहर जान थालेपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ”, उनले भने, “विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका कारण विद्यालयका साथै कक्षाकोठा समायोजन गर्नु परेको हो ।”

यस्तै, समायोजन अनुसार शान्ति आधारभूत विद्यालय, पौटु, गंगाजमूना आधारभूत विद्यालय, भिरकुना, चंद्रदेबी आधारभूत विद्यालय चमखार्क, जनसेवा आधारभूत विद्यालय, यामगाउँ तथा तातोपानी आधारभूत विद्यालय, खोर्लाबेसी विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको शिक्षा अधिकृत जोशीले बताए ।

गाउँँपालिकाको दरबन्दी मिलान तथा विद्यालय समायोजन समितिले इसिडी नभएका विद्यालयहरुमा इसिडी स्थापना गर्ने र भएका विद्यालहरुमा यथावत राख्ने निर्णय भएको शिक्षा अधिकृत जोशीले बताए ।

धार्चेका ९ वटा माविका वि.व्य.स विघटन


धार्चे गाउँपालिकाले ९ वटा माध्यमिक विद्यालयका व्यवस्थापन समिति विघटन गरेको छ । गाउँपालिकाको शिक्षा समितिले असार १८ गते बसेको बैठकले विगठन गरी वडा शिक्षा समितिलाई रेखदेख गर्ने गरी निर्णय भएको हो ।

‘हामीले शिक्षा ऐन संशोधन ग¥र्यौ, विशेष कार्यदल बनाएर एक वर्ष लामो अध्ययन गरेका छौ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने,‘ विगतका कक्षा ८ र यो वर्षको एसइईको नतिजालाई हेरेर समिति विघटन गर्नु पर्ने अबस्थामा पुगेका हौं ।’ विद्यालय व्यवस्थापन समितिहरु विद्यालयको शिक्षामा जिम्मेवारी नभएको गाउँपालिकाको आरोप छ ।

गाउँपालिकाले अर्को निर्णय नभएसम्म सम्बन्धित वडा शिक्षा समितिले नै उक्त विद्यालयको रेखदेख गर्ने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *