गोरखाका नेवार समुदायले जूनुमा मकै सुकाउने पर्व (सकिमना पुन्ही) मनाए

समाचार सामाजिक

विराज त्रिपाठी


३० कार्तिक २०८१, शुक्रवार,

गोरखा । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार साँझ गोरखा सदरमुकामका नेवार समुदायले मकै सुकाउने पर्व (सकिमना पुन्ही) सामूहिक रुपमा धुमधामका साथ मनाएका छन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको पहलमा शुक्रबार राति गोरखा नगरपालिका–६ ठूलो आँगनमा जुनको प्रकाशमा अन्न सुकाएर पर्व मनाइएको हो । घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाईएको थियो।

गोरखाको ठुलो आगनमा जूनमा मकै सुकाईँदै। तस्बिरः विराज त्रिपाठी

‘कार्तिक शुक्ल पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता छ’ ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले भने ‘यसरी सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्न प्रसादको रुपमा प्रयोग गरिन्छ।’ भुटेको मकै सँगै भटमास, केराउ चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, सेल रोटी लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ। सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ। कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन्।

उनका अनुसार पूणिर्माको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली बलियो हुने विश्वाससमेत रहेको छ । ‘पहिले घरघरमा अन्न सुकाएर मनाउथे, पछि टोलटोलमा हुन थाल्यो, २०७६ सालबाट सामूहिक रुपमा मनाउन थालेका छौं,’ उनले भने ।

लोप हुन लागेको परम्परा जर्गेनाका लागी पनि सामूहिक रुपमा पर्व मनाउन थालिएको नेवार समूदायको भनाइ छ ।

समितिको अगुवाईमा बाजागाजा सहित बिभिन्न धार्मीक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो। खैँजेडी, पञ्चेबाजा, धिमे बाजाको साथमा ठुलो आगनमा शुक्रबार मकै सुकाइयो।नाचगान र बाजागा सहित मकै सुकाउने पर्वलाई नेवार समुदायले उत्सवको रुपमा मनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *