गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत गोरखाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
आरुघाट गाउँपालिका–२ स्थित श्री भवानी माध्यमिक विद्यालय, आरुघाट गाउँपालिका–४ को श्री गण्डकी माध्यमिक विद्यालय, धार्चे गाउँपालिका–५ को श्री जनजागृति माध्यमिक विद्यालय तथा धार्चे गाउँपालिका–६ स्थित श्री सूर्यदेवी आधारभूत विद्यालय यार्सा र श्री मञ्जुश्री माध्यमिक विद्यालय काशीगाउँमा अध्ययनरत ३०० भन्दा बढी बालबालिकालाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
संस्थाका सचिव किरण ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उच्च शिक्षा अध्ययन सहयोग कार्यक्रम अन्तर्गत आरुघाट गाउँपालिका–२ स्थित श्री भवानी माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना प्रायोजित विद्यार्थीलाई प्रतिविद्यार्थी ३ हजार रुपैयाँका दरले नगद सहयोग समेत प्रदान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक पहुँच र निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




