गोरखामा ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु

समाचार

गोरखा। गोरखा जिल्लाको आरुघाट गाउँपालिका–३ खुर्सानीस्थित आरुघाट–माछिखोला सडकखण्डको बीच भागमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृतकको पहिचान गोरखा, आरुघाट गाउँपालिका–५ भलछोपे निवासी १८ वर्षीय रामबहादुर रानाका रूपमा भएको छ। माघ १८ गते (आज) राति करिब २ः०० बजे सो स्थानमा अन्दाजी १७/१८ वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको थियो।

घटनाको जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक माछिखोला जाँदै गरेको ना.६ त. ९६३० नम्बरको ट्रयाक्टरमा सवार रहेको र उक्त ट्रयाक्टरबाट खस्दा पछाडिको टायरले कुल्चिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

मृतकको सनाखत उनका बाबुले गरेका छन् भने शवलाई पोष्टमार्टमको लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ। उक्त घटनामा संलग्न ट्रयाक्टरका चालक सिरानचोक गाउँपालिका-४ छोप्राक निवासी १८ वर्षीय गणेश मालबुललाई नियन्त्रणमा लिइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *