गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा प्रहरी नायव निरीक्षक मिलन पन्थलाई ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ। कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरीको चयन गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले, यसपटक प्रहरी नायव निरीक्षक पन्थलाई सम्मान प्रदान गरेको हो।
प्रहरी संगठनको नीति निर्देशन अनुसार तोकिएको जिम्मेवारी र पदिय दायित्वलाई इमानदारी, बफादारी र कर्तव्यनिष्ठाका साथ उत्कृष्ट ढंगले कार्य सम्पादन गरेको कारण उनलाई यस सम्मानबाट पुरस्कृत गरिएको प्रहरी कार्यालय गोरखाले जनाएको छ।
साथै, कार्यालयको वडा एरिया अन्तर्गत घटेका विभिन्न प्रकारका अपराधहरूमा तदारुकताका साथ खटिई, घटनाहरूको सूक्ष्म अनुसन्धान गर्दै अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि कार्यालयले विशेष उल्लेख गरेको छ।
प्रहरी नायव निरीक्षक मिलन पन्थलाई सोमबार एक विशेष कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका छन्। कार्यक्रममा प्रहरी उपरीक्षक पाठकले मिलन पन्थको कर्तव्यनिष्ठता र समर्पणको कदर गर्दै उनलाई यो सम्मान दिइएको बताए।