गोरखा, भाद्र १ ।
गोरखा जेसीजले आजदेखि जेसीज सप्ताह–२०२५ औपचारिक रुपमा सुरु गरेको छ। सप्ताह भाद्र ७ गतेसम्म सञ्चालन हुने जेसीज गोरखाका अध्यक्ष सुमन गुरुङले जानकारी दिए।
सप्ताहको पहिलो दिन आइतबार आयोजित खुल्ला दौड प्रतियोगिताबाट कार्यक्रमको सुरुवात गरिएको हो। ५३ जनाको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका धावकहरूले विजयी हात पारे।
६.५ किलोमिटर दुरीमा सम्पन्न प्रतिस्पर्धामा गणेश सिंह राउतले २१ मिनेट ५० सेकेन्डमा पहिलो स्थान हासिल गरे। यमराज खत्री २२ मिनेट ३७ सेकेन्डमा दोस्रो भए भने गौतम श्रेष्ठ २२ मिनेट ४५ सेकेन्डमा तेस्रो भए। सरोज गिरीले २३ मिनेट ०३ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना पुरस्कार जिते।
विजेताहरूलाई क्रमशः १५ हजार, ७ हजार ५ सय, ४ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक सुजित श्रेष्ठले जानकारी दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दौड प्रतियोगिताको उद्घाटन गरेका थिए। प्रतियोगिता गोरखा नगरपालिका–५ पश्लाङ चौताराबाट सुरु भई नयाँ बसपार्क हुँदै पँदेली महादेव स्थानमा सम्पन्न भएको थियो।
सप्ताहको दोस्रो दिन भोलि सोमबार आरुघाट गाउँपालिका–२ स्थित भिमोदय बहुमुखी क्याम्पसमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने संयोजक युनिक अर्यालले जनाएका छन्।








