गोरखकाली टायर उद्योगसहित सात सार्वजनिक उद्योग निजीकरण प्रक्रियामा

समाचार

गोरखा ।

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगसहित देशका सात सार्वजनिक उद्योगलाई निजीकरण गर्न सरकारले प्रक्रिया सुरु गरेको छ । सरकारको लगानी व्यवस्थापन समितिको निर्णयअनुसार जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र गोरखकाली टायर उद्योग लिमिटेड निजीकरण प्रक्रियामा प्रवेश गरेका हुन्।

अर्थ मन्त्रालयले जनकपुर, ओरियन्ट, बुटवल धागो र नेपाल मेटल कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ । मन्त्रालयले ४२ चाटर्ड एकाउन्टेन्ट संस्थामध्ये संक्षिप्त सूचीमा परेका कम्पनीलाई प्रतिस्पर्धाबाट छनोट गरी मूल्यांकन प्रक्रिया अघि बढाउने जनाएको छ ।

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलका अनुसार संक्षिप्त सूची प्रकाशित भइसकेकाले अब बोलपत्र आह्वान हुने र त्यसपछि मूल्यांकन प्रक्रिया सुरु हुनेछन् । मूल्यांकन सकिएपछि ती उद्योगको निजीकरण औपचारिक रूपमा अघि बढाइनेछ।

नेपालमा गाडीको टायर उत्पादन गर्ने उद्देश्यले २०४१ सालमा स्थापना गरिएको गोरखकाली रबर उद्योग हाल ५ अर्ब ५७ करोड रुपैयाँको सञ्चित नोक्सानीमा छ । लामो समयदेखि बन्द रहँदा उद्योगका भवन र मेसिनहरू जिर्ण अवस्थामा पुगेका छन् ।

सञ्चालनमा रहेका सात उद्योगमध्ये उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्ट मात्र अहिले उत्पादनमा छन् भने गोरखकाली, जनकपुर चुरोट, ओरियन्ट म्याग्नेसाइट र बुटवल धागो उद्योग वर्षौंदेखि बन्द छन्।

सरकारले ‘निजीकरण’ शब्द विवादित हुने भन्दै ‘सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन’ भन्ने शब्दावली प्रयोग गरेको छ । प्रतिनिधिसभाबाट स्वीकृत निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ मार्फत सेयर निष्कासन, मर्जर र सम्पत्ति मौद्रीकरणको बाटो खुलेपछि बन्द भएका उद्योग व्यवस्थापनको प्रक्रिया अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *