गोरखा । गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा आजदेखि ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला–२०८२’ सुरु भएको छ। मेला गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको संयुक्त आयोजनामा सुरु भएको हो।
कार्यक्रमको उद्घाटन गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले गरे। उद्घाटन समारोहअघि विभिन्न समुदायका मानिसहरूले आफ्ना संस्कृति झल्काउने झाँकीसहितको ¥याली प्रदर्शन गरेका थिए। ¥याली हरमटारी, शक्तिचोक, बसपार्क, ठुलोआँगन, पाटेचौर र अस्पताल मार्ग हुँदै पुनः हरमटारीमै पुगेको थियो।
गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठका अनुसार मेला कार्तिक ३० गतेसम्म चल्नेछ। मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला, घरेलु तथा प्रविधिसम्बन्धी वस्तुहरू प्रदर्शनीमा राखिएका छन्।
करीब ३२ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। प्रवेश शुल्क सामान्यका लागि रु १००, विद्यार्थीका लागि रु ५० र अपाङ्ग तथा जेष्ठ नागरिकका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
१५० वटा स्टल रहने मेलामा कृषि प्रदर्शनीका लागि १०, होटल तथा रेस्टुरेन्टका लागि ६ र बाँकी स्टल अन्य व्यवसायिक प्रयोजनका हुनेछन्। साथै बाल उद्यान, खेल–मनोरञ्जन, पिङ, कृषि उपज, हस्तकला, प्रविधि, पर्यटन तथा सेवा क्षेत्रका सामग्री पनि प्रदर्शनीमा राखिएका छन्।

