जहाँ संकट, त्यहाँ प्रेम : गोरखाले चिनेको निस्वार्थ नाम

समाचार

गोरखा । पहाडी भूगोल र कठिन जीवनशैलीबीच गोरखामा एउटा नाम यस्तो छ, जसलाई धेरैले पदभन्दा पहिले सेवाबाट चिन्छन्—प्रेमकुमार खत्री। व्यवसायबाट आर्जित साधनलाई समाजमै फर्काउने अभ्यासमार्फत उनले आफूलाई सामाजिक अभियन्ताका रूपमा स्थापित गरेका छन्।

आरुघाट–८, आरुपोखरीमा जन्मिएका ४१ वर्षीय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले ऊर्जा र कृषि क्षेत्रमा पनि लगानी विस्तार गरेका छन्। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने मान्यताले उनलाई गाउँ–गाउँसम्म सक्रिय बनाएको छ। २२ वर्षको उमेरदेखि नै उनले सामाजिक कामलाई निरन्तरता दिँदै आएका छन्।

 

२०७२ सालको विनाशकारी भूकम्पपछि गोरखामा राहत, उद्धार र पुनर्निर्माणका काममा उनी सक्रिय देखिए। घरबारविहीन भएका ७९ विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको उनका निकट स्रोतहरूले बताएका छन्। भूकम्पपछिको कठिन समयमा खाद्यान्न, अस्थायी आवास र स्वास्थ्य सामग्री वितरणमार्फत उनले विभिन्न बस्तीमा सहयोग पुर्‍याएका थिए।

कोभिड–१९ महामारीका बेला पनि खत्रीले स्वास्थ्य सामग्री र सेवामा सहयोग गरेका थिए। गोरखाका ११ स्थानीय तहमा १३ एम्बुलेन्स उपलब्ध गराइएको, सात स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना तथा उपकरण सहयोग गरिएको बताइन्छ। नियमित स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क जाँच र औषधि वितरणसमेत गरिएको जनाइएको छ।

शिक्षा क्षेत्रमा ३० हजारभन्दा बढी विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला र शैक्षिक सामग्री वितरण गरिएको दाबी छ। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म सहयोग, विद्यालयमा अक्षयकोष स्थापना, भवन तथा छात्रावास निर्माणमा समेत उनको योगदान रहेको बताइन्छ।

महिला र युवालाई लक्षित गरी १५० भन्दा बढी महिला समूहलाई आयआर्जनका सामग्री सहयोग तथा १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहयोग गरिएको जानकारी छ। पञ्चेबाजा र खैजडी भजन जस्ता सांस्कृतिक परम्परा संरक्षणका कार्यक्रम तथा कफी खेतीमार्फत ग्रामीण स्वरोजगार सिर्जनामा समेत पहल गरिएको बताइएको छ।
‘सम्भव नेपाल’ अभियानमार्फत शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा संस्थागत ढंगले कार्यक्रम सञ्चालन गरिएको खत्रीको भनाइ छ। सामाजिक कार्यलाई व्यक्तिनिष्ठभन्दा संस्थागत संरचनामार्फत अघि बढाउनुपर्ने उनको धारणा छ।

राजनीतिक रूपमा विद्यार्थी जीवनदेखि सक्रिय रहेका खत्री हाल नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। यसपटक उनी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। विभिन्न देशको भ्रमणबाट प्राप्त अनुभवलाई नीतिगत तहमा प्रयोग गर्ने उनको लक्ष्य रहेको बताइएको छ।
सामाजिक सेवाबाट परिचित खत्री अब संसदीय नेतृत्वमार्फत आफ्नो अभियान विस्तार गर्ने तयारीमा छन्। गोरखा–१ का मतदाताले उनलाई औपचारिक नेतृत्वमा अवसर दिने वा नदिने निर्णय भने आगामी निर्वाचनले तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *