दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहीबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४००–५०० मिटर तल कर्णाली नदीमा खसेको छ।
दुर्घटनापछि सशस्त्र प्रहरी बलले एक युवकको शव नदी किनारको भिरमा अड्किएको अवस्थामा फेला पारेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट डीएसपीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन गरिएको छ। साथै सशस्त्र प्रहरी बल दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट समेत उद्धार टोली खटिएको छ।
बसमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै सार्वजनिक भएको छैन। अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।



