गोरखा, असार १९ ।
गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिरको रहेको पुष्टि भएको छ।
लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा भेटिएको उक्त संरचनाबारे पुरातत्व विभागले गत वर्ष प्रारम्भिक अध्ययन र यस वर्ष नौ दिनसम्म विस्तृत उत्खनन गरेको थियो। उत्खननबाट प्राप्त इटाको आकार, गर्भगृह, पेटीढुंगा, घेराबार तथा छाने शैलीका आधारमा यो मल्लकालको अन्तिम चरणमा बनेको महादेव मन्दिर भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्।
पुरातत्व विभागका अनुसार उत्खनन कार्य सम्पन्न भइसकेको छ। अब प्रतिवेदन तयार गरी भग्नावशेषको संरक्षण प्रक्रिया अघि बढाइनेछ। यद्यपि, लिखित अभिलेख फेला नपरेकाले यो कुन महादेव मन्दिर हो भन्ने यकिन भने हुन सकेको छैन।
