बिराज त्रिपाठी
गोरखा, २३ वैशाख । मगर समुदायको ऐतिहासिक तथा लोपोन्मुख घाटु नाच गोरखा नगरपालिका -१० स्थित बिरिन्चोक बजारमा बर्षनी पर्वको रुपमा मनाइन्छ ।

वैशाख पूर्णिमाको शुरुवाती समयदेखि शुरु भएर पञ्चमीसम्म चल्ने घाटु पर्वको अवसरमा बिरिन्चोक बजारमा गत शुक्रबार देखि शुरु भएको नाच भोलि चण्डीमाई मन्दिरमा पूजा गरेर समापन गरिन्छ ।
परापूर्व समयमा गाउँमा विपत्ती तथा रोगको महामारी फैलिएपछि त्यसलाई हटाउन भगवान एवं देवीदेवता गुहारेर शुरु भएको घाटु नाच मगर जातिमा प्रचलित र महत्वपूर्ण पर्वको रुपमा मनाइने गरिन्छ ।

सोह्रौँ शताब्दीमा एक दम्पत्ति राजारानीको प्रेम र विवाह, गृहस्थी, राजकाज, जंगल प्रस्थान, शिकारलगायतका घटनामा आधारित भएर घाटु नाचिने गरिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु समावेश गरी यथार्थता आधारित बनाएर साताव्यापी रुपमा मनाइने गरिन्छ ।
घाटु नाच्न घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक संख्यामा छानिने, कन्याबाहेक अरुले नाच्न नहुने उनीहरुलाई घाँटु नाच्नु अघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरी आँखा बन्द गराएर मात्र नाच्न योग्य बनाइने गरिन्छ ।

मातातीर्थ औँसीदेखि अभ्यास शुरु हुने र वैशाख पूर्णिमाको अवसरमा चण्डीमाई मन्दिरमा पूजा गरी पर्व उत्कर्षमा पु-याइन्छ ।
घाटु जात्रा सञ्चालन गर्न बिरिन्चोकमा स्थित मगर संघको आयोजनामा यहाँ बर्षनी घर बाहिर रहेका गाउँका सबै बासिन्दा एकै स्थानमा भेला भएर पर्व मनाइन्छ ।
घाटु नाच गुरुङ र मगर समुदायको साझा पर्वको रुपमा मनाइने गरिए पनि गोरखा नगरपालिकामा भने यही एक स्थानमा मात्रै नाच्ने गरिन्छ ।
