आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन

आर्थिक शिक्षा समाचार

असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको २० वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढीछ ।

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा ९६ लाख खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ ।

यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषदले विकास गरेको ६३ प्रकारका सूचित धानको जातको बीउ प्रयोग गरी किसानले धान उत्पादन गर्दै आएको पनि अभिलेख छ । यसका अतिरिक्त देशमा सुख्खा र डुबान सहन सक्ने धानका जातहरु पनि अन्तराष्ट्रिय धान अनुसन्धान संस्थाले नेपालमा सुख्खा र डुबान सहन सक्ने उन्नत जातको धानको विकास भएपनि किसानको घरदैलोसम्म ती अझै पुग्न आवश्यक रहेको बताएको छ ।

नेपालको खाद्यान्नको ५० प्रशिशत आपूर्ति धानबालीबाटै हुँदै गरेको स्थितिमा धान बालीको कति ठूलो महत्व रहेको छ सजिलै बुझ्न सकिन्छ । यस्तो अवस्थामा हामीले मनाउने राष्ट्रिय धान दिबसलाई हिलो छ्याप्ने, मनोरन्जनमा रमाउने र दही चिउरा खाने र रोपाई गर्ने सँस्कृतिलाई निरन्तर कायम राख्नेभन्दा माथि उठ्न सक्नु पर्दछ । यसलाई तीनै तहको सरकारले गंभिर बनाएमा यसको सार्थकता पूरा हुनेमा कसैको दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *