सामुदायिक वन उपभोक्ता समिति र कबुलियतीबन समुहलाई उत्कृष्ट पुरस्कार

समाचार

बिराज त्रिपाठी


गोरखा, २०८१ साउन १४ गते । डिभिजन वन कार्यालय गोरखाले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई र तीन वटा कबुलियतीबन समुहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरू र कबुलियतीबन समुहहरुलाई नगद सहित पुरस्कृत सम्मान गरिएको हो ।

सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सहभागिता र संस्थागत सुधार  गतिविधिहरूमा आधार मानेर पाँच सय १३ सामुदायिक वन उपभोक्ता समितिमध्ये र दुई सय ८७ कबुलियतीबन समुहमध्ये मूल्याङ्कनका आधारमा तीन वटा उपभोक्ता समितिलाई र तीन वटा कबुलियतीबन समुहलाई उत्कृष्ट वनका रूपमा पुरस्कृत गरिएको डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन  शाण्डिल्यले बताए ।

थाकलडाँडाँ सामुदायिक वन उपभोक्ता समिति भिमसेनथापा गाउँपालिका-६ लाई प्रथम, लक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समिति गोरखा नगरपालिका-१३ लाई द्वितीय र कालिका सामुदायिक वन उपभोक्ता समिति पालुङटार नगरपालिका -७ लाई तृतीय पुरस्कारबाट सम्मान गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए ।

यस्तै, पिपलडाँडाँ कबुलियतीबन समुह गण्डकी गाउँपालिका-१ लाई प्रथम, बिमिरे खाल्डो (ग)कबुलियतीबन समुह भिमसेनथापा गाउँपालिका-१ लाई द्वितीय र आरनडाँडाँ कबुलियतीबन समुह अजिरकोट गाउँपालिका-४ लाई तृतीय पुरस्कारबाट सम्मान गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी पौडेलले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, कोष तथा लेखा नियन्त्रकका प्रमुख महेन्द्र प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ गोरखा शाखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल र डिभिजन वन कार्यालयका प्रमुख शाण्डिल्यले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा जिसस प्रमुख थापा र कोलनिका गोरखा प्रमुख भण्डारीले वन संरक्षण अभियानमा उपभोक्ता समितिहरू र बन समुहको महत्त्वपूर्ण योगदान रहने बताए । उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र बन समुहहरुलाई पुरस्कारले सम्मान गर्ने कार्यले वन संरक्षण कार्यमा थप हौसला मिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *