गोरखा, २०७९ असार ७
पूर्वी नवलपरासीबाट गोरखा घुम्न आएका यात्रु सवार माइक्रोबस गोरखा नगरपालिका–११ स्थित पन्ध्रकिलोमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। गोरखा–आँबुखैरेनी सडकखण्डमा शनिबार दिउँसो १२:२० बजे ध १ ख ४६२ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ।
सदरमुकामबाट फर्कने क्रममा भएको उक्त दुर्घटनामा बसमा सवार १६ जनामध्ये ९ जना घाइते भएका छन्। घाइते सबैलाई प्रदेश अस्पताल गोरखामा उपचार गरिँदैछ भने बाँकी ७ जना यात्रु सकुशल छन्।
घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरू नवलपरासी जिल्लाको देवचुली नगरपालिकासहित विभिन्न स्थानका बासिन्दा रहेको जनाइएको छ।
घाइते यात्रुहरूको विवरण:
१. तारा माया गाहा (३७ वर्ष, देवचुली–२)
२. सरस्वती अधिकारी (४५ वर्ष)
३. जित कुमारी ढुङ्गाना (५७ वर्ष)
४. थम कुमारी महत (४८ वर्ष)
५. धन कुमारी पोख्रेल (४७ वर्ष)
६. राजन रेग्मी (५५ वर्ष)
७. सुकमाया बराम (५८ वर्ष, वडा नं. ४)
8. सन्त माया सुनार (४० वर्ष, वडा नं. ५)
9. रिता थापा क्षेत्री (४५ वर्ष, वडा नं. ५)
घटनाबारे थप अनुसन्धान भइरहेको र माइक्रोबस दुर्घटनाको कारण खुल्न बाँकी रहेको गोरखा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए।
