गोरखा ।
गोरखा आरुघाटमा नाच प्रतियोगिताको नाममा बालबालिकाका अभिभावकसँग ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–७ की २० वर्षीया आयुषा पाण्डे, २१ वर्षीय पुरुशोत्तम न्यौपाने, कन्चन गाउँपालिका–१ की २० वर्षीया शारदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेका छन्।
उनीहरुले ‘गोरखा डान्स च्याम्पियन २०८२’ प्रतियोगिता सञ्चालन गर्दै फाइनलमा प्रवेश गराउन भोटिङ कार्ड बिक्री गरेको र बालबालिकाको अभिभावकमार्फत रकम असुली गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रत्येक भोटिङ कार्डको मूल्य १०० रुपैयाँ तोकिएको थियो। जसले धेरै कार्ड कटाउन सक्छ, उ विजेता हुने र पुरस्कार तथा अन्य कार्यक्रममा सहभागी हुने भन्दै झुटो प्रलोभन देखाएर ठगी गरिएको आरोप छ।
प्रहरीले उनीहरुको साथबाट नगद ८९ हजार ७६० रुपैयाँ, ७ थान पूर्ण रूपमा काटिएको टिकटको अर्धकट्टी प्याड, १४ थान आंशिक रूपमा काटिएको प्याड र १३ थान नकाटिएको टिकट प्याड बरामद गरेको छ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
यदी कोही अन्य व्यक्ति वा अभिभावक पनि यस्ता गतिविधिबाट ठगिएको छन् भने, जिल्ला प्रहरी कार्यालय गोरखामा सम्पर्क राख्न सूचित गरिएको छ।

