गोरखासहित विभिन्न जिल्लामा भोली दशैंको टीका–जमरा

समाचार

गोरखा । पर्व सुधार अभियानअन्तर्गत गोरखा सहित तनहुँ, कास्की, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्रमा भोली (मंगलबार) दशैंको टीका–जमरा लगाएर विजया दशमी मनाइने भएको छ।

पर्व समय सुधार राष्ट्रिय समाज नेपालका सदस्य सचिव हरी नारायण मल्लका अनुसार तिथिअनुसार सोमबार नवमी र मंगलबार विजया दशमी पर्ने भएकाले टीका–जमरा लगाउने तयारी गरिएको हो। गोरखामा गोरखा र पालुङटार नगरपालिका साथै सिरानचोक गाउँपालिका–४, ५ र ६ का बासिन्दाले सामूहिक रुपमा टीका–जमरा लगाउने तयारी गरेका छन्।

पर्व सुधार राष्ट्रिय समिति गोरखाकी अध्यक्ष तुलसा मरहट्टाका अनुसार विद्यालय र गाउँस्तरमा सामूहिक टीका–जमरा तथा भोजभतेरको कार्यक्रम तय गरिएको छ। सिरानचोकका सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, नाम्रुकदेवी निमावि, गोरखा सदरमुकामको बालमन्दिर मावि र महेन्द्र ज्याति माविसहितका विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकले सामूहिक टीका लगाउनेछन्।

२०६९ सालदेखि नै गोरखामा ब्राम्हण, नेवार लगायतका समुदायले एक महिना अगावै दशैंको टीका–जमरा लगाउँदै आएका छन्। हिन्दू धर्मावलम्बीले मान्ने मुख्य दशैं भने असोजमा पर्ने भएकाले उनीहरूले त्यसमा पनि सहभागिता जनाउने परम्परा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *