रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान करिब ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार हालसम्म नदीमा डुबेको बसबाट ९ जनाको शव निकालिएको छ भने १० जनाभन्दा बढी घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
